header

aa

Saturday, January 16, 2016

रूपचन्द्र विष्टकाे दश दर्शन

रूपचन्द्र त्यस्ता नेता हुन्, जो चुनावमा चुनावी-पर्चा बिक्री गरेर प्रचार गर्थे । मत दिने जनतालाई 'तिमीहरू भाते, कुकुर हौ' भनेर मत माग्थे । तर, उनी कति लोकपि्रय थिए भने व्यवस्थाविरोधी एजेन्डा बोकेर, व्यवस्थाले नै हराउन खोज्दा पनि चुनाव जित्थे । उनी जनतासँगै श्रम गर्थे, जनताकै असल मित्र थिए, आफ्नो पूरै जिन्दगी जनताको हितमा दिए ।

'थाहा आन्दोलन' का प्रणेता जनतालाई 'थाहा' दिन जिन्दगीभरि जागिरहेका विष्टको आफ्नै दर्शन थियो, दर्शनका पक्षमा आफ्नै तर्क र व्याख्या थिए । रूपचन्द्रको स्मृतिदिवसका अवसरमा उनको मौलिक दर्शन र जीवनशैलीसँग सम्बन्धित दस बुँदा मात्र यहाँ प्रस्तुत छन्
जनता जाननीय भए मात्रै नेता माननीय

रूपचन्द्रले तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्षलाई सम्मानीय भनेनन् । राष्ट्रिय पञ्चायत सदस्यलाई जस्तै 'माननीय अध्यक्ष' मात्रै भने । अरू सदस्यले नियमापत्ति गरे । रूपचन्द्रले तर्क गरे, 'जनता जाननीय नभई हामी कसरी माननीय हुन सक्छौँ, अध्यक्ष महोदय ? तसर्थ अध्यक्ष पनि सम्माननीय
हुन सक्दैन ।'

छोरा तेरो, चासो हामीलाई 

रूपचन्द्रले मकवानपुरका सबै बासिन्दालाई आ-आफ्ना छोराछोरी पढाउन अनुरोध गर्थे । किन छोराछोरी पढाउने भनेर उनी प्रशिक्षण पनि दिन्थे । नपढाउने अभिभावकलाई श्रम-सजायसमेत दिइन्थ्यो । रूपचन्द्रले छोरी नपढाउनेलाई दोब्बर सजायको व्यवस्था गरेका थिए ।
एकपटकको भेलामा एकजना अभिभावकले भनेछन्, 'मेरा छोराछोरीको मलाई नै चिन्ता छ । छोरो पढाऊँ कि नपढाऊँ, तँलाई के खाँचो ?'

रूपचन्द्रले भने, 'छोरो मात्रै तेरो हो । त्यसले पढ्ने कि नपढ्ने भन्ने तँलाई भन्दा हामीलाई बढी चासो हुन्छ । तेरो छोराले पढेन भने त्यो चोर, डाँका, दुष्ट हुन्छ । त्यस्तो हुँदा उसले तेरो घर त चोर्दैन, हाम्रो घरमा चोर्छ । हामीलाई बढी दुःख दिन्छ । त्यसैले तेरो छोराले नपढ्नुमा हामीलाई बढी चासो छ । बुझिस् ?'
त्यसपछि रूपचन्द्रले शिक्षाबारे नारा नै बनाए, 'छोराछोरी पढाउने जिन्दावाद, छोराछोरी नपढाउने मुर्दावाद !'

भेट हुँदा तपाईं, छुटेपछि तँ !

रूपचन्द्र अत्यन्तै विरलै मान्छेलाई तपाईं भन्थे । तिमी भनेर सम्बोधन गर्नेहरू पनि अत्यन्तै कम थिए । अरू सबै-सबैलाई उनले 'तँ' भन्थे । किन ?
'भेट हुँदा मात्रै तपाईं भन्ने, तर छुट्नासाथ तँ भन्ने तिमीहरू ढोंगी र पाखण्डी हौ । भित्री मनले तँ भन्ने भएपछि अघिल्तिर तपाइं भनेर किन ढाँट्ने ? किन स्वाङ पार्ने ?'
यही तर्कसहित रूपचन्द्रले नेता, प्रशासकदेखि सबै उच्च ओहोदामा आसीनलाई पनि अघिल्तिरै तँ सम्बोधन गर्थे ।

जस्तो देख्यो, त्यस्तै !

रूपचन्द्रले कतिपय वरिष्ठ नेता र नाम चलेका व्यक्तिलाई पनि आफ्नै नाम दिएका थिए । उनीसित नकारात्मक अर्थ वहन गर्ने विशेषणसहितका ती नामको व्याख्या पनि थियो । उनी जसलाई जस्तो देख्यो, उस्तै भन्थे । भ्रष्टाचारी भेटियो भने 'के छ भ्रष्टाचारी ?' भनिदिने ।

एकपटक मकवानपुरकी एक दुलहीलाई विवाहकै दिन उनले दाह्रे भनिदिए, 'ल दाह्रे रहिछस्, तेरो विवाह सफल होस् !'
दाँत अलिकति बाहिर निस्केकी ती महिला विष्टसँग तीन वर्षसम्म बोलिनन् । पछि मात्रै रूपचन्द्रको खुला स्वभाव चिनेपछि उनी बोलेकी थिइन् ।

जरुरी छैन नाता

रूपचन्द्र सबैलाई सोझै नामबाट बोलाउँथे । दाइभाइ, दिदीबहिनी, काकाकाकी आदि भनेको उनलाई मन पर्दैनथ्यो । कसैले उनलाई 'दाइ' सम्बोधन गर्‍यो भने हपार्थे, 'ए, भाते ! तेरो बा र मेरी आमाबीच वा मेरा बा र तेरी आमाबीच के सम्बन्ध छ र मलाई 'दाइ' भन्छस् ? खुरुक्क मेरो नामले
बोलाउन सक्दैनस् ?'

आफ्नो-आफ्नो खुस

रूपचन्द्र वाक्स्वतन्त्रताबारे हदैसम्मको वकालत गर्थे । उनी असीमित वैचारिक-स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता राख्थे । बोलेको कुरालाई कसरी लिने भन्नेमा चाहिँ सुन्ने मान्छे स्वतन्त्र हुन्छ भन्थे । रूपचन्द्र भन्थे, 'के बोल्ने, तेरो मुखको खुस, सुन्ने कि नसुन्ने, अरूका कानको खुस । तेरा मुखका खुसलाई अरूका कानका खुसले बाधा पार्न पाइँदैन । म के बोल्ने, मेरो मुखको खुस । मेरो मुखको खुसमा अरू कसैले शासन गर्न पाइँदैन । मैले 'बाँकी सप्पै संसार बेठीक, म मात्रै ठीक' भन्न पनि पाउनुपर्छ ।'

सत्य बोल्न रूपचन्द्र कसैको डर, धक मान्दैनथे । आफूलाई लागेको सत्य उनी राष्ट्रिय पञ्चायत बैठकदेखि आमसभासम्म स्पष्ट भन्थे । पञ्चायती व्यवस्थामा निर्वाचित उनी पञ्चायतलाई नै शोषक र फटाहा व्यवस्था भन्थे । उनका सहयोगीले यसरी बोल्दा हामीलाई अप्ठ्यारो पर्छ कि भन्दा रूपचन्द्र कड्किन्थे, 'कसलाई सजिलो पर्छ र कसलाई असजिलो पर्छ भन्ने उसैको काम । कसलाई खुसी पार्ने भनेर बोल्ने मेरो काम होइन, के सत्य हो भन्ने मात्रै मेरो काम ।'

तँ पाइले मान्छे, म बाटे मान्छे 

एकपटक रामनारायण बिडारीले भाषण सम्पादन गरे रूपचन्द्र विष्टको । त्यहाँ निरंकुश व्यवस्थाको अगाडि 'पञ्चायत' शब्द थप्न बिडारीले अनुरोध गरे । तर, रूपचन्द्र विष्ट त्यसो गर्न मानेनन् । किन ? उनले भने, 'हामीले एकैचोटि त्यस्ता शब्द प्रयोग गर्नुहुँदैन । के भनेको र कसलाई भनेको भन्ने जनताले प्रस्ट बुझ्ने, तर कानुनले समात्न नसक्ने कुरा बोल्नुपर्छ । तैंले यस्तो कुरा बुझेको छैनस् ।

उनले सबैजसो निरंकुश व्यवस्थाको विरोध गर्नेक्रम सदाबहार तर्क राख्दै भने, 'तँ पाइले मान्छे, एक पाइलाको र आजैको कुरा गर्छस् । तर, म बाटे मान्छे, लामो बाटो पार गर्नेसम्मको कुरा सोच्छु ।'

प्रतिपाँच मिनेटको हिसाब 

रूपचन्द्र विष्टको आफ्नै जीवनशैली थियो, श्रम गर्ने, सत्य बोल्ने, ध्यान गर्ने, थाहा दिने । प्रत्येक पाँच मिनेटको हिसाब गर्नुपर्छ भन्ने उनको आग्रह हुन्थ्यो । उनले अरूलाई पनि भन्थे- एक पाँच मिनेट सत्य बोल, एक पाँच मिनेट सत्य सोच (ध्यान गर), एक पाँच मिनेट सत्य थाहा देऊ । एक दिनमा दुई सय ८८ पाँच मिनेट छन् । तिमी कम्तीमा तीन पाँच मिनेट सत्य र थाहालाई किन दिन्नौ ?'

एक अँगालो स्वास्नी एक थाल भात

रूपचन्द्रले सत्य बोल्न कसैको डर, धक मान्दैनथे । आफूलाई लागेको सत्य उनी राष्ट्रिय पञ्चायत बैठकदेखि आमसभासम्म स्पष्ट भन्थे । पञ्चायती व्यवस्थामा निर्वाचित उनी पञ्चायतलाई नै शोषक र फटाहाको व्यवस्था भन्थे । उनका सहयोगीले यसरी बोल्दा हामीलाई अप्ठ्यारो पर्छ कि भन्थे । तर, रूपचन्द्र कड्किन्थे, 'कसलाई सजिलो पर्छ र कसलाई असजिलो पर्छ भन्ने उसैको काम । कसलाई खुसी पार्ने भनेर बोल्ने मेरो काम होइन, के सत्य हो भन्ने मात्रै मेरो काम ।'

को दोषी ?

रूपचन्द्रले थाहा आन्दोलनको प्रवर्द्धन गर्न थुप्रै नारा, गीत, कविता, टुक्का, मन्त्र पनि बनाएका थिए । एउटा कवितांश :
'केटाकेटी बिग्रे बाबुआमा दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
व्यवस्था बिग्रे अगुवा दोषी
अनि यथार्थमुखी, कर्तव्यमुखीबाहेक
पछुवा, भगुवा सारा दोषी ।
जात ठूलो कि जनता ?
नाता ठूलो कि न्याय ?
स्वार्थ ठूलो कि स्वार्थ ?'
(०३९ को स्थानीय चुनावको प्रचारमा तयार)


बाख्रा गोठालो चितुवा

पञ्चायती व्यवस्था यस्तै छ भनेर ०३९ मा उनले तयार पारेको अर्को कवितांश :
पैसाबाट सत्यता
पदबाट इन्साफ,
जातबाट जनहित
शोषकबाट विकास,
विदेशीबाट राष्ट्रियता
रन्डीबाट इमान,
गुन्डाबाट राजनीति
शासकबाट प्रजातन्त्र,
पाइन्छन् भन्नेले
लगाएछन् चितुवालाई
बाख्राको गोठालो ।