कहिल्यै विवेक बेचेर नखाने राजनितिज्ञ रुपचन्द्र विष्ट भएको राजनीतिक विश्लेषक तथा वरिष्ट लेखक खगेन्द्र सौंग्रोलाले बताएकाछन् । सबैका माझ आफ्नो विवेक लगाएर ठाडो शिर गरेर हिँड्न रुपचन्द्रले नै सिकाएको उनले बताए । राजनैतिक विश्लेषक संग्राैलाले मागेर कहिल्यै ठूलो र धनी नहुने बताउँदै भने–‘भगवानसंग मागे पनि मान्छे सकिन्छ लैनचौर अगाडि गएरमागे पनि सकिन्छ ।’ थाहा दर्शन प्रतिपादन, प्रयोग भएको ठाउँमा थाहा प्रति जति उत्साह, गर्व र प्रयोग हुनुपर्ने त्यो हुनै नसकेको बताए । थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको ८३औं जन्मोत्सवको अवसरमा उनको जन्मथलो मकवानपुरको थाहा नगरमा मनाउन थालिएको पहिलो थाहा दिवसको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा वरिष्ट पत्रकार प्रताप विष्टले हेपिएका, पछाडि पारिएका व्यक्तिको समाचारको विषय बन्नु पर्ने बताए । रुपचन्द्र विष्टको स्कूलिङ पनि यि र यस्तै विषय भएकोले यदि पत्रकारहरुले रुपचन्द्र विष्ट
सम्झने हो र उनको बाटोलाई अंगाल्न खोज्ने हो भने पनि हेपिएका, छाप्रामा बस्ने र श्रम गर्नेको समाचार पत्रकारको विषय बन्नु पर्ने बताए । उनले भने–‘विडम्बना त्यसको ठीक विपरितमा अहिलेको पत्रकारिता चलिरहेको छ । विज्ञापन धेरै दिने, धन हुने, पहुँचवालाको अधिनमा पत्रकारिता चलिरहेको छ ।
फरकसोच अभियान्त जयन्ती रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा हिमशिखर बचत तथा ऋण सहकारी संस्था लि. आग्राका अध्यक्ष शुभराज गोले, रुपचन्द्र विष्ट स्मृति निर्माण समितिका अध्यक्ष राजीव कुमार स्याङ्दान, नेपाली काँग्रेसका निरोज प्रधान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य बालकृष्ण अधिकारी, बज्रवाराही उच्च माविका अध्यक्ष महेश्वर सुवेदी, थाहा नगरपालिकाका लेखा प्रमुख दिपक गजुरेल, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली लगायत विभिन्न संघसंस्थाका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।
तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान कोष २०७१ वितरण
तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान कोष २०७१ बाट मकवानपुरका वरिष्ट पत्रकार प्रताप विष्ट सहित जिल्लाको उत्तरी क्षेत्रमा रहेका एक विद्यालय र एक छात्रा सम्मनित भएका छन् । विभिन्न क्षेत्रका माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्ती र एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गर्ने तिर्थदास स्मृति सामाजिक सम्मान कोषको उद्देश्य अनुसार सम्मान गरिएको हो ।
पत्रकारिताको माध्यमबाट पछाडि पारिएका र लोपोन्मुख सिमान्तकृत समुदायको समाचार लेखी पु¥याएको योगदानको कदर गर्दै पत्रकार विष्टलाई सम्मान गरिएको हो । थाहा दिवसको अवसरमा फरक सोच अभियानले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । नगद ११ हजार १ सय ११ र ताम्रपत्र सहित विष्टलाई वरिष्ट साहित्यकार तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलाले सम्मान गरेका हुन् । कार्यक्रममा सम्मानित पश्चात् मन्तव्यका क्रममा पत्रकार विष्टले कुनै पनि सरकारी, गैर सरकारी संस्था तथा विदेशी निकायको सहयोग विना सामाजिक क्षेत्रमा सक्रिय फरकसोच टिमलाई नगद फिर्ता गरेका थिए । उनले पुरस्कार पाएको रकमले पछाडि पारिएको व्यक्तिहरुको उत्थानका लागि रकम सदुपयोग गर्न फरक सोचलाई भनेका थिए । कार्यक्रममा २०७१ सालमा मकवानपुर उत्तरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढि नतिजा ७३.४९ प्रतिशत ल्याउने बज्रवाराही उच्च माविलाई ताम्रपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सबैभन्दा बढि अंक ल्याउन सफल बज्रवाराही उच्च माविकै छात्रा सुस्मिता सुवेदीलाई नगद ५ हजार ५ रुपियाँ तथा ताम्रपत्र सहित प्रमुख अतिथी संग्रौलाले सम्मान गरेका थिए ।
काठमाण्डौ जन्मथलो भए पनि थाहा नगरमा शिक्षाको विजारोपन गर्ने स्वर्गिय तिर्थदास श्रेष्ठको स्मृतिमा फरक सोच अभियानले राखेको अक्षय कोषबाट सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रममा तिर्थदास श्रेष्ठ र उनको योगदानको विषयमा फरकसोच अभियान्ता उर्मिला श्रेष्ठले जानकारी दिएकी थिइन् । कार्यक्रममा फरकसोच अभियानले हालसम्म गरेको सामाजिक कामको विषयमा अभियान्ता सुरजकुमार भुजेलले जानकारी गराएका थिए । कार्यक्रममा फरक सोच अभियानका रामकुमार कार्की, उदयदास श्रेष्ठ, मनोज रायमाझी, अनित विष्ट, रोशन रायमाझी, लगायतकाको सहभागिता रहेको थियो ।